Monday, May 10, 2010

शिक्षाको 'मुस्कान' छर्दै जेनिशा

स्मृति ढुंगाना,
काठमाडौं, वैशाख - मिस वर्ल्डमा जानुअघि 'लौन नि के गरौं' संस्थाले आयोजना गरेको कार्यक्रममा जेनिशा मोक्तानले एक ९ वर्षे बालकलाई पुलाउ र मासु दिँदै खाऊ भनिन्। तर, ती बालकले खाएनन् बरु भने, 'अहिले खाएपछि घरमा फेरि खान मन लाग्छ।
बरू अहिले नै खाएन भने घर गएर खाने रहर नै हुन्न नि, दिदी।' असहाय बालबालिकाका लागि केही गर्छु भन्ने सोच बनाएकी मिस नेपाल जेनिशालाई ती बालकको कुराले झनै प्रेरित गर्‍यो। 'त्यो बालक आर्थिक रूपमा कमजोर भए पनि असल स्वभावका रहेछन्,' जेनिशाले नागरिकसँग भनिन्, 'मैले फेरि उसलाई भेट्न पाएको छैन।' सरकार र विभिन्न गैरसरकारी संस्थाले यस्ता बालबालिकालाई सही अर्थमा सहयोग गर्न नसकेको अवस्थाप्रति उनी दुःखी छिन्। 'बाँच्न र पढ्न पाउनु सबैको अधिकार हो।' तर नेपालमा गरिबसम्म शिक्षाको पहुँच पुग्न सकेको छैन।
गरिब बालबालिकालाई शिक्षा दिलाउन उनले 'मुस्कान' नामक अभियान सुरु गरेकी छिन्। मिस नेपाल हुनुभन्दा अघि नै सुरु गरिएको अभियानलाई उनले मिस वर्ल्डबाट फर्केपछि सक्रिय बनाएकी छिन्। यही अभियानअन्तर्गत् उनले केही समयअघि केही जिल्लाको भ्रमण गरिन् र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिन्।
गृहयुद्धको चपेटामा परेको श्रीलंकामा समेत शिक्षाको पहुँच सबैमा पुगेको थाहा पाएपछि उनलाई अचम्म लागेको छ। मिस वर्ल्डमा सहभागी हुन जाँदा भेटिएकी मिस श्रीलंका गाम्या प्रसादिनीबाट उनले यो कुरा थाहा पाएकी हुन्। 'सानैदेखि मानसिक र शारीरिक शोषणमा हुर्किएकी गाम्या श्रीलंकामा महिलाहरूमाथि हुने हिंसाको विरुद्ध कार्यरत छिन्। गाम्याको जीवनले पनि जेनिशालाई उर्जा दिएको छ।
बीबीएमा अध्ययनरत् जेनिशा नेपालमा पनि सबैले निःशुल्क शिक्षा पाएको हेर्न चाहन्छिन्। र, त्यस कार्यमा आफ्नो 'मुस्कान'ले केही गर्न सके आफ्नो लक्ष्य पूरा हुने उनी बताउँछिन्। यही लक्ष्यका साथ उनले 'मुस्कान' नामक अभियानलाई रसुवासहित धरान, धनगढी, धादिङ, सिराहासम्म लगिसकेकी छन्। नेपालभरनै लैजाने योजना छ, उनको। भनिन्, 'अब चाहि मुस्ताङ जान्छु।'
बालबालिकासँग सजिलै घुलमिल भएर रमाउने जेनिशा आफ्नो अभियानमा साथीहरूलाई समेत समेट्दैछिन्। यही आफ्नो प्रोजेक्टका लागि पैसा जोह गर्न उनले तामाङ ल्होसारको अवसर पारेर टुँडिखेलमा सशुल्क गुलाबको फूल बाँडेकी थिइन्। त्यसबाट ४५ हजार जम्मा भएपछि उनले आफ्नो प्रोजेक्टलाई नेपालभर पुर्‍याउने मौका पाइन्।
त्यसपछि स्टेसनरीबाट कापी, किताब र कलम लिएर पहिलोपटक रसुवा पुगिन्। त्यहाँ उर्मिला तामाङले उनलाई विभिन्न स्कुलमा लिएर गइन्। उनले त्यहाँका बच्चाहरू निकै लजालु स्वभावका पाइन्। तर बच्चाका अभिभावकले उनलाई सोधेका थिए, 'तपाई पनि कुनै संस्थासित आवद्ध हुनुहुन्छ होला?'
रसुवामा अधिकांश संस्थाले केवल सामग्री बाँड्ने काममात्र गर्ने रहेछन्। त्यसैले बच्चाहरूसँग खेल्ने उनको सपना पूरा भएन। पछि धरानको यात्रा भने रमाइलो भएको उनको धारणा छ। सडक बालबालिकाको ज्यादै दयनीय अवस्थाले पनि उनलाई सताउँछ। विशेषगरी अहिलेका सडक बालबालिकाको स्थिति देख्दा उनी निराश छिन्। महाँकालमा रहेको 'विकल्प' नामक संस्थाले सेप्टेम्बरमा आयोजना गरेको अन्तर्राष्ट्रिय कार्यक्रमपछि उनले बल्ल सडक बालबालिकाको विषयमा जानकारी बटुलेकी थिएन्।
त्यस कार्यक्रमले उनलाई बालबालिकाको मुद्दामा डुब्न अझ सघाएको थियो। थाइल्यान्ड, बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र नेपालका बालबालिकाको भेला रहेको उक्त कार्यक्रममा सबैले आफ्ना विचार आदानप्रदान गरे। बालअधिकार, बालहिंसा, शिक्षा र बालश्रमबारे कार्यक्रममा बहस चलेको थियो।
नेपाली बालबालिकाको स्थिति यी सबै पक्षमा नाजुक रहेको उनलाई थाहा छ। 'स्कुललाई शान्ति क्षेत्र भनिए पनि, व्यवहारमा लागु भएको छैन,' उनले भनिन्। महँगीमा बाच्न नसकेपछि गरिब केटाकेटी 'सडक बालबालिका'मा परिवर्तन भएको उनको अनुमान छ। भन्छिन्, 'सहरमा मात्र सुविधा हुँदा ग्रामीण भेगका मानिस सबै कुराबाट बन्चित हुन्छन्। सडक बालबालिकालाई व्यवस्थित गर्न चरणवद्ध योजनाहरू ल्याइनुपर्ने उनी बताउँछिन्। 'उनीहरूको मानसिकता नै मागेर खानुपर्छ भन्ने भैसक्यो,' एकदिन दया लागेर १० जना सडक बालबालिकालाई खाना खुवाउने जेनिशाले भनिन्, 'उनीहरूलाई मानसिक रूपमै बदल्न जरुरी छ। ' सहयोगमात्र गर्दा पीडित पक्ष झन् परनिर्भर बन्दै जाने डर उनलाई कहिलेकाही लाग्छ। उनीसँग आठ वर्षअघि यस्तो घटना भइसकेको छ। 'शारीरिक असशक्तता भएकी र संगीतमा अध्ययनरत् २३ वर्षकी एक युवतीले मसँग आर्थिक सहयोग मागिन्। दुई महिनासम्म त सहयोग गरेँ। तर पछि धेरै नै परनिर्भर हुन थालिन्,' जेनिशाले सम्झिइन्, 'जबकि त्यतिखेर म आफैं पनि आमाबुबामथि निर्भर थिएँ। त्यसपछि मैले आर्थिक सहयोग गर्न नसक्ने बताएँ, उनी टाढिइन्।'
तामाङ महिलाहरूको केन्द्रिय संस्था नेपाल तामाङ महिला घेदुङकी उपाध्यक्ष रहेकी जेनिशा महिला हिंसाविरुद्ध जनचेतना फैलाउने अभियानमा समेत समर्पित छिन्। 'एउटा महिला शिक्षित हुनु भनेको सम्पूर्ण परिवार नै शिक्षित हुनु हो।' महिलामा रोजगारीको अवसर सिर्जना गरेर उनीहरूको जीवन उकास्ने उद्देश्यले, उनले अरूसँग मिलेर 'तामाङ महिला वचत तथा ऋण सहकारी संस्था' समेत सुरु गरेकी छिन्। उनी माइती नेपालद्वारा आयोजना गरिने कार्यक्रमसँग सहकार्य गर्न समेत इच्छुक छिन्। उनी अहिलेसम्म थुप्रैपटक माइती नेपाल गइसकेकी छिन् र त्यस संस्थाको गुणगान गाउँछिन्, 'बेचिएका महिलालाई उद्धार गरी नयाँ जीवन दिएको छ।' उनको आफ्नै नारा छ, 'महिलाका लागि महिलाले नै सोच्नुपर्छ।'
साभार : www.nagariknews.com

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।