काठमाडौ, अषाढ ७ ।'ज्ञान हस्तान्तरण' को मूल भावनामा नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव राजधानीमा चौथो पटक हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) ले आयोजना गर्न लागेको उक्त महोत्सवमा छनोट भएका फिल्मलाई देशका १२ प्रमुख सहरमा पनि प्रदर्शनमा लगिने भएको छ ।
महोत्सवमा विदेशी १९ र स्वदेशी १४ गरी ३३ वटा फिल्म, डकुमेन्ट्री, छोटो फिल्म र म्युजिक भिडियो प्रदर्शन हुनेछन् । असार ११ देखि १३ सम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जारी रहने प्रदर्शनमा भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानडा, अर्जेन्टिना, अमेरिका, स्विडेन, नर्वे र क्याम्बोडियाका फिल्म प्रतिस्पर्धामा छन् । यीसहित मातृभाषामा मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बू, सुनुवार, धिमाल, सौका र बान्तवाका स्वदेशी फिल्महरू पनि प्रतिस्पर्धामा हुनेछन् ।