Friday, November 28, 2008

संविधान सभा उपाध्यक्ष माओवादीकी पूर्णाकुमारी

संविधानसभा उपाध्यक्षमा पूर्णाकुमारी सुवेदी बहुमतले विजयी हुनुभएको छ । सुवेदीलाई संविधानसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भनि दिनानाथ शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावलाई मत विभाजनको आधारमा संविधानसभाको बहुमतले स्वीकृत गरेको हो ।
बाँके क्षेत्र नं ४ वाट निर्वाचित सुवेदीलाई नेकपा एमाले र जनमोर्चा नेपालले र्समर्थन गरेका थिए भने मालेले पनि आफ्नो उमेदवारलाई तटस्थ राखेर सुवेदीलाई मत दिएको थियो । उपाध्यक्ष पदमा विजयी हुनकोलागि कम्तिमा २ सय ९७ मत चाहिनेमा सुवेदीले ३ सय ६.मत ल्याउनुभएको छ । जम्मा खसेको ५ सय ५ मत मध्ये सुवेदीको विपक्षमा ६९ र तटस्थमा ९० मत परेको थियो ।
दोस्रो स्थानमा सभासद लिला न्याइच्याई आउनुभएको छ । उहाँले तेस्रो स्थानमा रहनुभएकी सभासद प्रतिभा राणाको भन्दा १ मत बढी पाउनुभएको छ । एक मात्र पुरुष उमेदवार खोभारी रायले जम्मा ८ मत पाउनुभएको छ । रमणी राम र नीलम खड्का भन्दा पहिले उमेदवारी दर्ता गराउनुभएकी सुवेदीको पक्षमा बहुमत परेपछि राम र खड्काले निर्वाचन प्रक्रियामा भाग लिन पाउनुभएन ।
सभासद प्रतिभा राणा, खोभारी राय र लिला न्याइच्याईलाई संविधानसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । जम्मा ५ सय २ मत खसेकोमा प्रतिभा राणाको पक्षमा १ सय १४ मत परेको थियो भने विपक्षमा २ सय ३१ र तटस्थमा १ सय ८३ मत परेको थियो ।
जम्मा खसेको ५ सय १६ मत मध्य खोभारी रायको पक्षमा ८ मत परेको थियो भने विपक्षमा २ सय ३१ मत र तटस्थमा २ सय ७७ मत परेको थियो । जम्मा खसेको ५ सय ७ मत मध्य लिला न्याइच्याईको पक्षमा १ सय १५ र विपक्षमा २ सय १७ मत परेको थियो भने तटस्थमा १ सय ७५ मत परेको थियो । उपाध्यक्ष निर्वाचित भएपछि आजै सभाध्यक्षले उहाँकै कार्यकक्षमा सपथ ग्रहन गराउने कार्यक्रम रहेको छ । अर्काे बैठक १७ गते विहान ११ बजे बस्ने छ ।
यसैबीच नेकपा माओबादीवाट समानुपातिकतर्फ सभासद बन्नुभएका बरिष्ठ नेता मोहन बैद्य किरणले राजिनामा दिनुभएपछि उहाँको सट्टा दाङका कुवेरबहादुर ओली सभासद बन्नुभएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।