Tuesday, September 8, 2009

डिफेन्स आर्मीका प्रमुख पक्राउ

दुई वर्षमा २४ ठाउँमा बम विस्फोट गराउने नेपाल डिफेन्स आर्मीका प्रमुख कमान्डर आरपी मैनाली प्रहरी फन्दामा परेका छन् । १८ महिनाअघि जमानतमा मुक्त भएपछि पनि बम विस्फोट गराउँदै आएका मैनालीलाई जिल्ला प्रहरी कार्यालय मोरङको स्पेसल टास्क फोर्सले शनिबार पक्राउ गरेको छ ।
नेपाल डिफेन्स आर्मीको नाममा दुई वर्षदेखि मोरङ तथा काठमाडौंका सार्वजनिक स्थलमा बम विस्फोट गराउने योजनाकारका रूपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । मोरङ प्रहरीको अपराध अनुसन्धान संयुक्त विशेष कार्यदलले 'दुई वर्षको अथक प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको’ प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीले बताए । 'अपराध अनुसन्धानमा प्रहरीको यो ठूलो र महत्त्वपूर्ण उपलब्धि हो,’सुवेदीले भने ।
मैनाली झापाको शरणामती गाविसको मागिडुवामा शनिबार बिहान पक्राउ परेका हुन् । प्रहरीले मैनालीका सहयोगी तथा पुलिस विश्वास उपनामले चिनिने मोरङ जिल्ला कमान्डर त्रिभुवन यादवलाई पनि शनिबार नै तर फरक ठाउँबाट पक्राउ गरेको छ ।
विराटनगरमा आइतबार दुवैलाई पत्रकार माझ सार्वजनिक गरिएको थियो । प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल, १४ राउन्ड गोली, एक थान रिभल्बर, पाँच थान गोली, मोबाइल फोनका एक दर्जन सिमकार्ड, विभिन्न पर्चाहरू र धम्कीपत्रहरू बरामद गरेको छ ।
डिफेन्स आर्मीको नामबाट मोरङमा तीन सयभन्दा बढी र काठमाडौंमा सयभन्दा बढी धम्कीपत्रहरू व्यक्ति र संस्थाका नाममा पे्रषित भएको प्रहरीको भनाइ छ । प्रहरी उपरीक्षक सुवेदीले ज्यान मार्ने उद्योग, विस्फोट, आपराधिक धम्की, असुली, हातहतियार खरखजानाको अभियोगमा आपराधिक कानुनअन्तर्गत मैनालीलाई कारबाही हुने बताए ।
१८ महिनाअघि उपत्यका अपराध अनुसन्धानले पक्राउ गरे पनि उनी तारेखमा छुटेका थिए । मैनालीलाई पक्राउ गर्न नेपाल प्रहरीले उनको व्यक्तिगत विवरणसहित फोटो इन्टरपोलमा समेत राखेर मोस्ट वान्टेडको सूचीमा राखेको थियो ।मैनालीको विगत राजनीति
२०४५ सालदेखि एमाले
२०५२ सालदेखि माओवादी
२०५७ सालदेखि हिन्दू संघसंगठनमा आबद्ध र २०६३ साल फागुन २३ शिवरात्रिदेखि नेपाल डिफेन्स आर्मीको स्थापना गरी संस्थापक अध्यक्ष ।
मोरङ गोविन्दपुर ८ पट्टीयाभाडानिवासी मैनालीले श्री काली मावि गोविन्दपुरबाट एसएलसी परीक्षा दिए । त्यसपछि मैनालीले भारतमा अध्ययन गरेका थिए । भारतीय जनता पार्टीसँग समेत उनी आबद्ध भएका थिए ।
डिफेन्स आर्मीका माग
१. हिन्दू अधिराज्य नेपाल घोषणा गरी विश्वका डेढ अर्ब हिन्दूको पवित्र ग्रन्थ मानिने गीतालाई राष्ट्रिय पुस्तक घोषणा गर ।
२. विदेशी चलखेलमा डलरमा बिकेका नैतिकतालाई बलात्कार गर्ने राष्ट्रघातीहरूद्वारा जबर्जस्ती धर्मनिरपेक्ष बनाएको नेपाललाई संविधानसभाको निर्वाचन गर्नुअघि विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल हुनुपर्छ वा पर्दैन भनी सम्पूर्ण नेपाली जनताबीच निष्पक्ष जनमतसंग्रह गर ।
३. हिन्दूहरूको धर्मग्रन्थअनुसार कृष्णजन्माष्टमी, शिवरात्रि, औंसी, पूणिर्मा, रामनवमी, एकादशी आदि जस्ता पर्वमा निर्दोष पशुपक्षीहरूको निर्मम हत्या गर्ने र हिन्दू परम्परा, संस्कृति र संस्कारमाथि अलिकति पनि आँच आउने जुनसुकै कुकार्य बन्द गर ।
४. बुद्धलगायतका अन्य विभूतिहरूका विचारहरूलाई समेटेर मात्र नयाँ संविधान निर्माण गर ।
५. जुनसकै धर्म, सम्प्रदाय, जातजाति, भाषाभाषीका नागरिकहरूले दुईभन्दा बढी सन्तान जन्माउन प्रतिबन्ध गरी कडा कानुन कार्यान्वयन गर ।
६. माओवादी युद्धकालमा जबर्जस्ती नोकरी छाड्न बाध्य बनाइएका सेना, प्रहरीलगायत विभिन्न पेसा, क्षेत्रका कर्मचारीहरूलाई तुरुन्त निःसर्त बहाली गर ।
७. विभिन्न व्यक्ति, दल र समूहद्वारा कब्जा गरिएका चल-अचल सम्पत्तिहरू तुरुन्त फिर्ता गर ।
८. जनआन्दोलन (भाग १, २) र मधेसी अधिकार आन्दोलनमा दिवंगत भएका व्यक्तिलाई क्षतिपूर्तिसहित सहिद घोषणा गर । साथै घाइते र मृतकका परिवारलाई उचित स्वास्थ्योपचारका साथै उच्च शिक्षाको ग्यारेन्टी गर ।
९. भाषाभाषी, जातजाति, मधेसी-पहाडीको नाममा राज्यलाई विखण्डन गर्न खोज्ने षड्यन्त्रकारीहरूलाई देश निकाला गर ।
१०. जातीय भेदभाव अन्त्य गरी कारबाही गर्न नमिल्ने भनिएका भ्रष्ट नेताहरूलाई कडा कारबाही गर्ने कानुन बनाई तुरुन्त कारबाही गर्दै तिनीहरूले विदेशमा राखेका सम्पूर्ण सम्पत्ति ल्याई राष्ट्र निर्माणमा खर्च गर ।
११. व्यक्तिगत तथा दलगत स्वार्थको मात्र राजनीति गर्ने र नेपाली जनतालाई सधैंभरि गुमराहमा राखेर भेडाबोका बनाउने प्रथाको तुरुन्तै अन्त्य गरी प्रत्येक नेपाली जनतालाई गाँस, बास र कपासको ग्यारेन्टी गर ।
१२. निर्दोष व्यक्तिलाई पैसा र पावरको भरमा दोषी बनाई कैदीजीवन बिताउन बाध्य बनाइएका सम्पूर्ण बन्दीलाई तुरुन्त रिहा गर ।
१३. परजीवी नहुन, श्रमको सम्मान गर्न र आत्मनिर्भर भई सक्षम बन्न प्रत्येक नेपाली नागरिकले अनिवार्य रूपमा दिनको १८ घन्टा काम गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर ।
१४. सम्पूर्ण शिक्षा प्रणाली तुरुन्त खारेज गरी शिक्षित र सक्षम नेपाली नागरिक उत्पादन गर्न व्यावसायिक, उत्पादनमूलक, व्यवहारमुखी र वैज्ञानिकीकरणजस्ता शिक्षाका पाठ्यक्रमहरू निमावि तहदेखि नै लागू गर ।
१५. पीत पत्रकारिता बन्द गराई योग्य, सक्षम र इमान्दार पत्रकारहरूको जीउधनको सुरक्षा र सम्मान गर ।
१६. विकासको नाममा जनतालाई दास बनाउने भ्रष्ट कानुनहरूलाई खारेज गर ।
१७. विभिन्न समूहद्वारा मच्चाइएको हत्या, अपहरण, धम्की, गुण्डागर्दी, जबर्जस्ती घरजग्गा कब्जा गर्ने कार्य तुरुन्त बन्द गरी सम्पूर्ण उद्योगपति, व्यापारी, पेसाकर्मी, किसानहरूको कार्य-व्यवसायहरू आनन्द, शान्तिपूर्वक सञ्चालन गर्ने र बाँच्न पाउने अधिकार सुनिश्चित गर ।
१८. 'सगरमाथा'लाई सस्तो बनाउने कार्य तुरुन्त बन्द गरी प्राकृतिक सम्पदा र संस्कृतिको संरक्षण गर ।
१९. 'तराई'लाई औद्योगिक र कृषि क्षेत्र, 'पहाड'लाई आवास क्षेत्र, 'हिमाल र धार्मिक स्थल'हरूलाई पर्यटकीय क्षेत्र घोषणा गरी अनिवार्य कार्यान्वयन गर ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।