Tuesday, November 24, 2009

२० हजारको एकै काल

बाराको बरियापुरस्थित गढिमाई मेलामा आज २० हजारभन्दा बढी राँगाको बलि चढाइएको छ। एकै पटकमा यति ठूलो स्तरमा हुने यो विश्व कै सबैभन्दा ठूलो बलि भएको अनुमान गरिएको छ। बलि रोक्नका लागि निकै प्रयास भए पनि त्यो सफल भने हुन सकेन। आज बिहान मन्दिरका मूल पुजारी म‍ंगल चौधरीको घरमा तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, कुखुरा, हाँस, सुँगुर र राँगा जस्ता सातवटा पशुपंक्षिको एकै पटक सप्तवलि दिएर देवीको पूजा गरेपछि बिहानबाट सर्वसाधारणको लागि बलि खुला गरिएको हो। चमत्कार भएर बलि रोकिन्छ भन्ने तपस्वी रामबहादुर बोम्जनका अनुयायीहरु बोम्जन सम्पर्कविहीन भएपछि चुप छन्। बलिविरोधीहरुले हिजो अन्तिम पटक पूजारी मंगल चौधरीलाई ज्ञापन पत्र बुझाएर ‘तपाईँ नै यो विश्वकै सबैभन्दा वृहत् बलि रोक्न सक्ने जिम्मेवार व्यक्ति हुनुहुन्छ, हामी आफ्नो घुँडा टेकेर यो बलि बन्द गराइदिनुहुन तपाईँलाई अनुरोध गर्छौँ’ भनेका थिए। तर बलि रोकिएन।

बलिका लागि एउटा ठूलो चौर खाली गरिएको थियो। मन्दिरको पूर्वपट्टि ब्रम्ह स्थान नजिक चार सय विघा जमिनमा पैतालिस लाखको लागतमा बनाइएको वधशालामा जताततै राँगैराँगा थिए। राँगा काट्नका लागि १२५ जना खुँडातरवार बोकेका मार हान्ने मान्छे थिए। उनीहरु गढिमाई मेला व्यवस्थापन समितिद्वारा नियुक्त व्यक्ति थिए। निश्चित रकम उनीहरुलाई बुझाएपछि उनीहरु राँगा काटिदिन्थे।
त्यसरी राँगा काट्न लगायो भने गढिमाई देवीले चिताएको पुर्‍याइदिन्छ रे। भक्तजनहरुको त्यस्तो मान्यता रहेछ। त्यही भएर त भारतको सीतामढीबाट एक जना मान्छेले छोरा पाउने आशामा एक सय पाँच वटा राँगा बलि दिन ल्याएको रहेछ। कस्तो विश्वास! कति अन्धविश्वास!

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।