बुद्ववीर राई
इलाम ३१ चैत्र । जिल्ला विकास समितिको कार्यालय इलाममा लाखौं रुपैयाँ भ्रष्टाचार भएको तथ्य छानविन समितिले फेला पारेको छ । रकम हिनामिना भएको कुरा बाहिर आएपछि गठन गरिएको छानविन समितिले प्रारम्भीक अनुसन्धानमा अनियमितता भएको पाइएको जनाएको छ । जिल्लाका सबै राजनीतिक दल र मानवअधिकारवादी सम्मिलित छानविन समितिले जिविसको काममा अनियमितता र भ्रष्टाचार हुने गरेको तथ्य फेला पारेको हो ।
जिविसले आ।व। २०६५÷६६ सालमा बनाएका विकासका योजना कागजमा मात्र सिमित भएको तर रकम भने सबै खर्च गरेको पाइएको छ । छानविन समितिका संयोजक डिल्ली चेम्जोङ्गले गतवर्ष मात्र इलाम विब्ल्याटेदेखि सन्दकपुरसम्म होर्डिङ्ग बोर्ड राख्नको लागि छुट्याईएको २ लाख रुपैयाँ होर्डिङ्गबोर्ड नराखी खर्च गरेको पाइएको जानकारी दिनुभयो । कागजमा बोर्ड राखेको बनाएर काम भने नगरेको उहाँले बताउनु भयो ।
इलामको राके गोरुवाला सडक ट्रयाक सर्भे गर्नेे प्रविधिकलाई रकम नदिएको भएपनि उक्त रकम खर्च भइसकेको जिविसको फाइलमा उल्लेख छ । यस्तै जिल्ला स्थित हासपोखरी निर्माणको क्रममा छुट्याईएको ४ लाख रुपैयाँ पनि कामै नगरी कागज मिलाएर भ्रष्टाचार भएको समितिको ठहर छ ।
जिविस इलामको लेखा समितिले छानविन टोलीसमक्ष आफ्नो प्रतिवेदन समेत पेश गर्न नसकेको टोलीले जनाएको छ । टोलीले नै अहिले जिविसको सम्पूर्ण आम्दानी खर्चको लेखा परिक्षण गरिरहेको छ ।
जिविसमा रकमको चरम दुरुपयोग स्थानीय विकास अधिकारी मेघनाथ काप्लेको पालादेखि भएको बताइएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।