काठमाडौं, १८ जेठ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र नेवाः स्वायत्त राज्य माग गर्दै नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले जेठ १८ गतेको कालो दिवस मनाएको छ । २०५५ सालमा काठमाडौं महानगरपालिकामा नेपाल भाषा र धनुषा जिविस र राजविराज नगरपालिकामा मैथिली भाषालाई स्थानीय राजनीतिक पार्टीहरुले कामकाजी भाषाको रुपमा प्रयोग गरेको विरोधमा सर्वाेच्च अदालतले २०५६ साल जेठ १८ गते निर्णय बदर गरेकाले हरेक बर्ष यो दिनलाई नेवाः लगायत विभिन्न आदिवासी र मधेसी समूदायहरुले कालो दिनको रुपमा मनाउँदै आइरहेका छन् ।
काठमाडौंको बसन्तपुरमा कालो झण्डाका साथ आयोजना गरिएको विरोध सभामा विभिन्न राजनीतिक पार्टीका नेताहरुले संविधानसभाको म्याद थप संघीयता, गणतन्त्र , धर्मनिरपेक्षता र नेवाः स्वायत्तताको घाँटी निमोठ्नको लागि षड्यन्त्र भएको बताएका छन् । उहाँहरुले यो अवधीमा राजतन्त्रले आफ्नो गुमेको शक्ति आर्जन गर्दै फेरि पनि पनि स्वायत्तता चाहनेहरुका लागि अर्को षड्यन्त्र गर्ने आशंका गरेका छन् । उहाँहरुले ८० प्रतिशत हिन्दु भएको भारतले हिन्दु राज्य घोषणा गर्न सक्दैन तर नेपालमा पूनः हिन्दु राज्य हुनुपर्ने भन्ने दबाव पूनः राजालाई ल्याउने कसरतको हो, भन्नुभयो । कार्यक्रमलाईर् सम्बोधन गर्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हितमान शाक्य ुसुमनुले विभिन्न राजनीतिक पार्टीका आस्था रहेपनि नेवारहरुले नेवाः स्वायत्त राज्यसहित अग्राधिकारको लागि एकताबद्ध हुन आहृवान गर्नुभयो ।
एकीकृत नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य समेत रहेका शाक्यले महिला,दलित र मुश्लिमलाई विशेषाधिकार र संघीतामा जातिहरुलाई स्वायत्तता चाहिने बताउँदै भन्नुभयो - संविधानसभाको म्याद थप्ने विषयमा भएको तीन बुँदे सहमति पालना गर्दै राष्ट्रिय सहमतिको सरकार बनाएमा विश्वास गर्ने ठाउँ हुन्छ, अन्यथा शंका हुने भएकाले विश्वासको बातावरण बनाउनुपर्छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले काठमाडाैंमा राजधानी भएकाले स्वायत्तता दिन नसकिने भन्ने अभिब्यक्तिको विरोध गर्दै भन्नुभयो -अग्राधिकारसहित नेवाः स्वायत्त राज्यको सुनिश्चित हुने ग्यारेन्टीका साथ मात्र काठमाडांैमा संघीय नेपालको राजधानी निर्माण गर्न दिनेछांै ।
उहाँले संघीयताको टोपी लगाएर कम्मरमा एकात्मक राज्यको वकालत गर्नेहरुका विरुद्धमा पनि संघर्ष आवश्यक भएको बताउनुभयो । नेपाली काँग्रेसका सभासद तीर्थमान डंगोलले संघीयता र गणतन्त्रको विरुद्ध मलजल गर्नको लागि म्याद थप भएको दावी गर्नुभयो । कार्यक्रममा नेवाः देय् दबूका संरक्षक मल्ल के सुन्दर, ज्यापू महागुथिका पुनदेवी महर्जन, नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिका अध्यक्ष नरेशवीर शाक्यलगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा ऐक्यवद्धताका लागि विभिन्न दलका सभासदहरु मध्ये हिसिला यमि, दिलिप महर्जन, राजकाजी महर्जन, बुद्धकृष्ण मानन्धरहरुले उपस्थित रहेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति देखाइएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।