Friday, January 1, 2010

समस्याग्रस्त हुँदैछ औद्योगिक करिडोर

विराटनगर। गत वर्ष कोशी नदीले तटवन्ध भत्काएर सडक अवरुद्ध भएपछि अर्बौको नोक्सानी ब्यहोर्न वाध्य भएका सुनसरी मोरङ्ग औद्योगिक करिडोरका उद्योगहरूले यो वर्षपनि लोडसेडिङका कारण अर्बौको नोक्सानी खेप्नुपर्ने भएको छ। आघिल्लो वर्ष लोडसेडिङ र पूर्व–पश्चिम सडक अवरुद्धका कारण ५० वटा उद्योगहरू बन्द गर्न बाध्य भएका उद्योगीहरूले यो वर्षपनि लोडसेडिङका कारण आफ्नो उद्योगबाट ३० प्रतिशत उत्पादनमा कटौति गर्न थालेको उद्योगीहरूले जानकारी दिएका छन्। आफूले उत्पादन गरेका वस्तुहरू विदेश निर्यातको समस्या तथा लोडसेडिङसँगै राजनीतिक दल, मजदुर र अन्य विभिन्न सङ्घ/सङ्गठनका बन्दको समेत मारमा पर्दै आएका इटहरीदेखि दक्षिण टंकीसिनवारीसम्मका करिब ५ सयबढी साना तथा ठूला उद्योगहरू गम्भीर समस्यामा पर्दै गएको अरिहन्त मल्टिफाईवर्सका प्रवन्ध निर्देशक गोविन्द बजगाईले जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणले यो वर्षको पुसको दोस्रो हप्तादेखि सातामा ५१ घण्टा लोडसेडिङ हुने सूचना जारी गरी विद्युत आपुर्ति कटौती गर्न थालेपछि यस क्षेत्रका सम्पूर्ण उद्योगहरूको एक सिफ्ट काम बन्द हुन थालेको छ। ठूल–ठूला मेशिनहरू रहेको अरिहन्त मल्टिफाईवर्स, रिलायन्स स्पेनिङ्ग इण्डष्ट्रिजजस्ता उद्योगले मेशिन सञ्चालनमा ल्याउन ती मेशिन तताउनै समय लाग्ने भएकाले एक सिफ्ट उद्योग सञ्चालन बन्द गर्नु परेको बताएका छन्।
प्रत्येक दिनको सात घण्टाभन्दा बढी विद्युत जाने भएपछि उद्योगहरूले उत्पादन कटौतिसँगै आयात निर्यातमा समेत प्रत्यक्ष प्रभाव पर्ने भन्दै मजदुरसमेत कटौति गर्नुपर्ने बाध्यताले वित्तीय चलखेलमा समेत प्रतिकूल प्रभाव पर्न जाने बताइएको छ। नेपालकै सबैभन्दा ठूलो धागो उत्पादन गर्ने उद्योगको रूपमा रहेको रिलायन्स स्पिनिङ इण्डष्ट्रिज, अरिहन्त मल्टिफाईवर्स, स्वदेशी साबुन उद्योग र एसियन थाई फुड्सजस्ता ठूला उद्योगसँगै ठूलो परिमाणमा मैदा उत्पादन गर्ने उद्योगहरूले पनि आफ्नो उत्पादनमा ३० प्रतिशत कटौति गर्नुको साथै मजदुरलाई पनि काम नभएर निकाल्नु पर्नेजस्ता समस्या पनि झेल्न बाध्य हुनु परेको बताएको छ। यस औद्योगिक करिडोर क्षेत्रमा दैनिक ९० मेगावाट विद्युत आवश्यक पर्नेमा अहिले भारतको कटैया प्रशासरण केन्द्रवाट ४५ मेगावाट, मल्टिफ्युल पावर प्लाण्टवाट ५ मेगावाट र विद्युत प्राधिकरण केन्द्रीय प्रसारण केन्द्रवाट १० मेगावाटमात्र आपूर्ति हुने गरेको प्राधिकरण स्रोतले बताएकोे छ। वर्षैपिच्छे हुने लोडसेडिङ, औद्योगिक कच्चापद्धार्थ आयातको झन्झट तथा निर्यात समस्या र मनपरी गरिने बन्द हडतालले थेग्न नसक्ने अवस्था आएकाले अधिकांश उद्योगहरू पुनः बन्द गर्नुपर्ने अवस्था बढिरहेकोले स्वदेशी पूँजी पलायनको खतरा पनि त्यतिकै बढेर गएको उद्योगीहरूले जानकारी दिएका छन्। औद्योगिक असुरक्षा, थेग्नै नसक्ने विविध समस्या र लोडसेडिङको मार कम गर्ने विषयमा सरकार गम्भीर नभए यस क्षेत्रका सबै उद्योगहरू टाट पल्टिन सक्ने र यहाँ लगानी भएका पूँजी पलायन भएर रोजगारीको समस्या पनि तीब्ररूपमा बढ्न सक्ने सम्भावना रहेको उनीहरूको धनाई छ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।