सन् १६१६ : साब्डुङ नावाङ नाम्ग्येल तिब्बतबाट भूटान आइ शासन गर्न थाले ।
सन् १६२४ : नावाङ नाम्ग्येल पहिलो गोर्खा भ्रमण, राम शाहसँग समझदारीमा गोर्खालीहरुलाई भूटान ल्याइयो ।
सन् १६४० : नावाङ नाम्ग्येलको दोश्रो गोर्खा भ्रमण, तत्कालीन राजा डम्बर शाहसँग भेटघाट, नेपाली परिवारलाई सीमावर्ती क्षेत्रमा वसोवासको व्यवस्था ।
सन् १६५१ : ५८ वर्षको उमेरमा नावाङ नाम्ग्येलको मृत्यु ।
सन् १८६३ : वर्षको सुरुमै टोङसा प्रान्तका पेन्लोप नाम्ग्येल वाङचुक, तराई क्षेत्रका काजी अमर प्रधान, चिराङका कीर्तिमान बुढाथोकी, तराई डुवर्सका गञ्जवीर थापा आदिले करिब बीसवटा घोडामा सरसौगात लिएर काठमाण्डौ पुगे । तत्कालीन राजा सुरेन्द्र र श्री ३ जंगबहादुरसँग भेटी सुरक्षाका लागि वन्दुक, हातहतियार, गोली गठ्ठा, सरसौगात र जनसमेत लिएर फर्के ।
सन् १८६५ : ११ नोभेम्बरका दिन ब्रिटिस भारत र भूटानबीच असमान सिञ्चुला सन्धि ।
सन् १९०४ : सेप्टेम्बरमा तिब्बतका लामा प्रशासकहरुसित ब्रिटिस भारतको सम्झौता ।
सन् १९०६ : काजी उगेन दोर्जी, काजी गर्जमान गुरुङ, धनवीर बुढा, कीर्तिमान बुढाथोकी र सनमान नेपाल, काठमाण्डौ पुगि चन्द्र शमसेरबाट टोङसा पेन्लोप उग्येन वाङचुकलाई भूटानका प्रथम महाराजा बनाइने स्वीकृतिको मोहोर प्राप्त गरे ।
सन् १९०७ : १७ डिसेम्बरका दिन उग्येन वाङचुकद्वारा भूटानलाई एकाधिपत्य राष्ट्रमा परिणत गरी वंशानुगत राजतन्त्रको स्थापना, आफूलाई देशको प्रथम महाराजा घोषणा । महाराजा बनेपछि ब्रिटिस सरकारद्वारा उनलाई सरको उपाधि ।
सन् १९१० : ८ जनवरीमा ब्रिटिस भारत र भूटानबीच मैत्री सन्धी, भूटानको परराष्ट्र नीति ब्रिटिस भारत सरकारद्वारा निर्देशित रहने ।
सन् १९२६ : २१ अगस्टमा उग्येन वाङचुकको निधन, जिग्मी वाङचुक २१ वर्षको उमेरमा गद्दीमा आशिन ।
सन् १९४८ : डी वी गुरुङको सकृयतामा भूटान स्टेट कांग्रेसको स्थापना ।
सन् १९४९ : ८ अगस्टमा सिञ्चुला सन्धिकै मर्मअनुसार स्वाधीन भारतसँग असमान सन्धि ।
सन् १९५२ : जिग्मी वाङचुकको निधन, २३ वर्षको उमेरमा जिग्मी दोर्जी वाचुक तेश्रो राजा ।
सन् १९५३ : नोभेम्बरमा ठेकेदारी प्रथाको अन्त्यको घोषणा ।
सन् १९५८ : नागरिकता अधिनियम ।
सन् १९६१ : प्रथम पञ्च वर्षीय योजना प्रारम्भ ।
सन् १९६२ : १० अक्टोबरका दिन प्रथम हुलाक टिकट जारी ।
सन् १९६४: प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको हत्या ।
सन् १९६५ : १ सेप्टेम्बरमा सेनाका पाँच सय जवानहरुलाई समेटेर रोयल भूटान पुलिसको स्थापना ।
सन् १९६८ : न्यायालय र मन्त्रालयहरुको सुरुवात ।
सन् १९७१ : २१ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको एक सय अठ्ठाइसौं सदस्य । योजना आयोगको स्थापना । भारतमा दूतावास । भूटानमा भारतको दूतावास । पहिलो जनगणना ।
सन् १९७२ : जुलाईमा जिग्मी दोर्जीको नैरोवीमा उपचारकै क्रममा ४३ वर्षकै उमेरमा निधन, जिग्मी सिङ्ग्ये वाडचुक १७ वर्षको उमेरमा राजा ।
सन् १९७४ : आफ्नै मुद्रा न्युल्ट्मको स्थापना र प्रचलन ।
सन् १९७९ : भूटान ब्रोड्कास्टिङ सर्भिसद्वारा सर्ट वेभमा रेडियो प्रशारण सुरु ।
सन् १९८३ : भूटान नेपाल कुटनीतिक सम्बन्ध स्थापित । भूटान वायु सेवा प्रारम्भ ।
सन् १९८७ : भूटानद्वारा जोङ्खा विकास परिषद्को स्थापना ।
सन् १९८८ : नोभेम्बरमा राजा जिग्मे सिङ्ग्ये वाङचुकको चार महिलाहरुका साथ एकैचोटि विवाह । विवाहभन्दा अगावै जन्मिएका चार राजकुमारका माताहरुसँगको विवाहकै दिन आठ वर्षीय जिग्मी गेसर नाम्गेल वाङचुकलाई युवराज घोषणा । नेपालका राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको भूटान भ्रमण । भूटानमा सम्पन्न जनगणनाद्वारा दक्षिणका कैयन नेपाली गैरभूटानी घोषित । टेकनाथ रिजालद्वारा राजकीय सल्लाहकार परिषद्को सदस्यका हैसियतले राजासमक्ष नेपालीभाषीमाथि अत्याचार भइरहेको व्योहोराको उजुरी । रिजाल पहिलोपटक गिरफ्तार । पदमुक्त गरी रिहा गरिएपछि जुन महिनामा भारतको आसाम हुँदै नेपाल प्रवेश । स्टुडेण्ट युनियन अफ भूटानको भूमिगत रुपमा गठन ।
सन् १९८९ : १५ नोभेम्बरको मध्य राति नेपालको विर्तामोडबाट टेकनाथ रिजाल गिरफ्तार, भूटान चलान । भूटानको विद्यालय पाठ्क्रमबाट नेपाली भाषा विस्थापित । डि्ग्लाम नाम्जा, एक राष्ट्र एक जनताको नीति जारी । पिपुल्स फोरम फर ह्युमन राइट्स स्थापित ।
सन् १९९० : २ जुनमा भारतको पश्चिम वंगालमा आर के बुढाथोकीको अध्यक्षतामा भूटान पिपल्स पार्टीको स्थापना । प्रजातान्त्रिक आन्दोलनसँगै नेपाली भाषी लखेटिने क्रम सुरु । दक्षिणी भूटानका स्कूलहरु बन्द । प्रजातान्त्रिक आन्दोलनमा संलग्न पूर्वी भूटानका अगुवाहरु रोङथोङ किन्ले दोर्जी, सोनाम छिरिङ र छेकू डुक्पा गिरफ्तार । उच्च तहमा रहेका भीम सुब्बा, डि एन एस ढकालजस्ता नेपाली भाषीहरु भूटानबाट पलायन ।
सन् १९९१ : शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्चायोग (यु एन एच सि आर) द्वारा पूर्वी नेपालमा शिविरहरुको स्थापना ।
सन् १९९९ : २ जुनदेखि जोङखा र अंग्रेजी भाषामा भूटान टिभीको सीमित प्रशारण आरम्भ ।
सन् १९९३ : तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा र उहाँका भूटानी समकक्षी दागो छिरिङ बीच शरणाथी मामिलामा पहिलो वार्ता ।
सन् १९९९: टेकनाथ रिजाल रिहा । नेपालमा निर्वासन जीवनको सुरुवात ।
सन् २०००: नवौं र दशौं चरणको संयुक्त जे एम एल सीको वार्ता क्रमशः मे २२ देखि २५ र डिसेम्बर २५ र २८ मा थिम्पू र काठमाण्डौमा सम्पन्न । एम्नेस्टी इन्टरनेशनलद्वारा भूटानी शरणार्थीका नागरिक हकसम्बन्धी प्रतिवेदन प्रकाशित । युरोपियन संसदद्वारा भूटानी शरणार्थीका सम्बन्धमा दोश्रो प्रस्ताव पारित ।
सन् २००१: जे एम एल सीको एघारौं चरणको वार्ता अगस्त २०देखि २३ सम्म थिम्पूमा सम्पान्न । संयुक्त प्रमाणिकरण टोली जेभीटीद्वारा खुदुनावारी शरणार्थी शिविरमा मार्च २६ मा सुरु गरी डिसेम्बर १५मा सम्पन्न । ह्युमन राइटस् वाचजस्ता मानवअधिकार संस्थाहरुद्वारा शरणार्थी सवालमा भूटान र नेपालका सरकारलाई ज्ञापन । भूटान पिपुल्स पार्टी अध्यक्ष आर के बुढाथोकीको दमकमा हत्या ।
सन् २००२: नेपालका तत्कालीन प्रतिपक्षी नेता माधवकुमार नेपालद्वारा भूटानको भ्रमण ।
सन् २००३ : काठमाण्डौमा नेपाल र भूटानबीच चौधौं चरणको वार्ता । संयुक्त प्रमाणीकारण समितिको प्रतिवेदन । प्रमाणीकरणमा परेका खुदुनावारीका शरणार्थीहरुद्वारा जनवरी ७ देखि अनसन प्रारम्भ ।
सन् २००६ : जनसंख्या, शरणार्थी र आप्रवासन मामिलासम्बन्धी अमेरिकी सहायक मन्त्री एलेन साउरव्रेद्वारा अमेरिकाले साठी हजारभन्दा बढी भूटानी शरणार्थीका निम्ति आप्रवासको व्यवस्था मिलाउने प्रस्तावको घोषणा । क्यानडा र अष्टेलियाद्वारा पनि आप्रवासका निम्ति चासो व्यक्त ।
सन् २००७ : शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्चायोगका उच्चायुक्त एन्टोनियो ग्युर्टसद्वारा मे २२ देखि २५ सम्म नेपाल तथा भूटानको भ्रमण । मे महिनामा वेलडाँगी २ शिविरमा पुनर्वासमा जान चाहने र घर फर्कन चाहने समूहबीचको झड्पमा दुइ जनाको मृत्यु ।
सन् २००८ : जनवरी महिनादेखि भूटानी शरणार्थीको तेश्रो मुलुक आप्रवास सुरु ।
(पत्रकार कुन्दन आर्यालद्वारा लिखित पुस्तक संवादबाट सशक्तिकरणबाट साभार)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।