Thursday, January 28, 2010

दक्षिण एसियाली खेलकुद आजदेखि

एघारौं दक्षिण एसियाली खेलकुद (साग) बंगबन्धु राष्ट्रिय रंगशालामा शुक्रबार सुरु हुँदैछ । आठ देश सम्मिलित प्रतियोगिताको उद्घाटन बेलुका हुनेछ । प्रतियोगिताको खेल भने शनिबारदेखि मात्र सुरु हुनेछन् । तीन हजार प्रदर्शकको कलात्मक प्रस्तुतिले सागको उद्घाटन रंगीन बनाउनेछ । साग अविस्मरणीय बनाउन तीन महिनाको कडा अभ्यासले निखारिएका कलाकारले विभिन्न कार्यक्रम प्रदर्शन गर्नेछन् । कलाकारले बंगलादेशको लोकसंस्कृति झल्कने झाँकी प्रदर्शन गर्नेछन् । उद्घाटन समारोहलाई अहिलेसम्मकै आकर्षक बनाउने बताइएको छ । दक्षिण एसियाली बृहत् खेल मेला सन् १९८४ मा नेपालबाट सुरु भएको थियो ।
बंगलादेशले तेस्रोपल्ट साग आयोजना गर्दैछ । उसले यसअघि सन् १९८५ र १९९३ मा आयोजना गरेको थियो । त्यसमा दोस्रो र छैटौं संस्करण थिए । यसपल्टको सागमा २३ खेल समावेश गरिएको छ । बंगलादेशले पहिलोपल्ट सागमा सबैभन्दा बढी खेल समावेश गरेर बृहत् खेल मेला आयोजना गर्दैछ । बंगलादेशसँगै नेपाल, श्रीलंका, पाकिस्तान, भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान प्रतियोगितामा सहभागी छन् । साग नेपाल, भारत, पाकिस्तान र श्रीलंकाले दुई/दुईपल्ट आयोजना गरिसकेका छन् । नेपालका २ सय ८३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन, भलिबल, कराँते, बक्सिङ, टेबलटेनिस, जुडो, स्क्वास, आर्चरी, भारोत्तोलन, कुस्ती, उसु, तेक्वान्दो, क्रिकेट, साइक्लिङ, पौडी, सुटिङ, कपर्दी, ह्यान्डबल, गल्फ, बास्केटबल र हक्की समावेश छन् । नेपालले सबै खेलमा भाग लिंदै छ ।
खेलाडीले कुल १ सय ५० भन्दा बढी स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालले १ सय ३२ स्वर्णमा चुनौती पेस गर्नेछ । अघिल्ला संस्करणमा भारतीय खेलाडीको प्रभुत्व रहने प्रतियोगितामा नेपालले मार्सल आर्ट्समा बढी पदक जित्ने आशा राखेको छ ।
नेपाली खेल पदाधिकारीले कराँते, तेक्वान्दो, उसु र जुडोमा बढी स्वर्ण जित्ने आशा गरेका छन् ।राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव तथा सेभ द मिसन हरिबाबु चौधरीले नेपालबाहिर हुन लागेको सागमा यसपल्ट सबैभन्दा उत्कृष्ट नतिजा निकाल्ने दाबी गरेका छन् ।
उनले एकल स्पर्धामा ९ स्वर्ण जित्ने बताए । भारतपछिको स्थानका लागि प्रतिस्पर्धा हुने उनको विश्वास छ । एक दशकअघि स्वदेशमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो । साफमा नेपालको सबैभन्दा ठूलो उपलब्धि त्यही हो ।
भारत र पाकिस्तानबीचको सम्बन्ध र सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलाका कारण केही वर्ष दक्षिण एसियाली खेलकुद अवरुद्ध भएको थियो । पाकिस्तानमा सम्पन्न नवौं संस्करणमा साफबाट यसको नाम साग राखिएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।