Monday, February 22, 2010

तीन दशकको अन्तरलपछी जग्गा धनि

दमक, १० फागुन । पैतीस वर्षको प्रतिक्षापछि इलामको चुलाचुलीका बासिन्दाले आफूले भोगचलन गर्दै आएको जग्गाको मालिक आफैं भएका छन् । चुलाचुलीको बर्षौंदेखि अव्यवस्थितरुपमा रहेको बसोवास सम्बन्धि समस्या समाधान भएको आज आइतवार सभामुख सुभाष नेम्वाङले घोषणा गरेका हुन् । उनले चुलाचुलीका बासिन्दा जग्गाबिहीन भएर बस्नु परेको दृष्टान्त अब इतिहास भएको बताउँदै भने “सरकारले सम्पूर्ण जग्गाको स्वामित्व तपाईहरुमा हस्तान्तरण गरेको म घोषणा गर्दछु ।” उनले स्थानियवासीलाई वितरण गर्न एक हजार ४५ थान धनीपूर्जा तयार भएको र बाँकी छिट्टै तयार गरिने बताए । उनले पूर्जा वितरणको प्रकृया तत्कालै शुरु गर्न आयोगलाई निर्देशन पनि दिएका छन् ।सरकारले स्थानिय बासिन्दालाई जग्गा वितरण गर्न यस अघि एक्काईसवटा आयोग गठन गरेको थियो । तर ती आयोगले काम पूरा गर्न सकेका थिएनन् । सरकारको पछिल्लो निर्णयपछि त्यहाँ उत्पन्न विवाद साढे तीन दशकपछि समाधान भएको हो ।
कार्यक्रममा सहभागि भएका भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठले चुलाचुलीवासीले तीनवटा शासन व्यवस्थापछि मात्र जग्गाको स्वामित्व पाएको बताउँदै भने- पञ्चायत र प्रजातन्त्रमा पनि तपाईहरुले नपाएको अधिकार गणतन्त्रमा पाउनु भएको छ । बाँकी समस्यालाई क्रमशः समाधान गर्ने मन्त्रालयको योजना छ । स्थानिय शेरबहादुर राईले नेम्वाङको घोषणापछि धनीपूर्जा पाउनेमा ढुक्क भएको बताए । उनले भने- अब भने हामीले जग्गाको स्वामित्व पायौं । यसकालागि साढे तीन दशकसम्म कुर्नु परेको थियो । एक बिघा जग्गा भोगचलन गर्दै आएका उनले आयोगको काम पूरा भएको खुसी व्यक्त गरे ।
भोगचलनका आधारमा त्यहाँका बासिन्दालाई बढीमा एक विघासम्म जग्गा दिने निर्णय सरकारले गरेको छ । तर त्यो नियम व्यवहारसंगत नभएको भन्दै एकिकृत माओवादीले विरोध गरेको छ । माओवादीले डेढ बिघासम्म जग्गा पाउने व्यवस्था कायम गर्न माग गर्दै आएको छ । सोही माग राख्दै भूमी सरोकार मन्चले आयोगको बिर्तामोड स्थित कार्यालयमा शुक्रवार तालाबन्दी गरेको थियो । तर शनिवार तालबान्दी फुटाएर काँग्रेस, एमाले र लिम्बुवानका नेता कार्यकर्ता तथा स्थानियवासीले पूर्जा आफूँसँगै लिएर आएका थिए । सरकारी जग्गा दर्ता गर्दा तोकिएको मूल्य खारेज गर्नुपर्ने र सुकुम्बासीको हकमा दश कठ्ठाभन्दा माथि मालपोत मूल्याँकनमा रजिष्ट्रेसन मोल पन्ध्र देखि तीस प्रतिशतसम्म तिर्नु पर्ने व्यवस्था खारेजी हुनुपर्ने माग गर्नुपर्ने मन्चले माग गरेको छ ।
चुलाचुलीमा सरपट नापीका लागि खटिएका दुइवटा टोलीले वि.स. २०६४ मंसीर महिनाबाट काम शुरु गरी गत चैत महिनामा काम पूरा गरेका थिए । नेपाली काँग्रेसका स्थानिय नेता गणेश फागोले बर्षौको प्रतिक्षापछि चुलाचुलीका बासिन्दा आफ्नो जग्गाको मालिक हुन लागेको प्रतिकृया दिए । उनले भने- यसका लागि हामीले एउटा युग नै कुरेका छौं । प्रतिक्षाको फल मिठै हुँदो रहेछ ।
चु्लाचुलीमा बृहत रेशम खेती परियोजना संचालन गर्न स्थानियवासीलाई वि.स.२०३० सालमा सट्टाभर्ना मार्फत मोरङको पथरी र उर्लावारी, झापाको पृथ्वीनगर र महेशपुरमा स्थान्तरण गरिएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।