Monday, February 22, 2010

लागि पौडर बिनाको हिरोइन

किरण पुन
सहरिया हिरोइनका जस्तो न उनको अनुहारमा लाली क्रिम थियो न शरीरमा छोटा लुगा। उनी हिरोइन हुन् भन्ने न उनको पहिरनले भन्थ्यो, न त उनको बोलीले नै।
'जनयुद्ध लड्न जति गाह्रो भयो त्योभन्दा पनि गाह्रो भयो त्यसलाई अभिनयमा उतार्न,' दाङको रामपुरस्थित माइतीमा रहेकी 'लालसलाम' फिल्मकी हिरोइन प्रेमा अधिकारीले भनिन्। जनयुद्धकालमा गाउँघरमा भेटिने माओवादी कार्यकर्ताजस्तै छिन् उनको हुलिया। उनीसँग अचेल न पार्टीको जिम्मेवारी छ न त कुनै फिल्म नै। एक दशक लामो जनयुद्धमा आधारित फिल्म 'लालसलाम'मा आफूले गरेको अभिनयको पोको खोल्दै छोरो आयुषलाई काखमा लिइन् र भनिन्, 'डेढ वर्षदेखि रेस्टमा छु।
कुनै जिम्मेवारी पनि छैन,' कहिलेकाहीँ फुर्सदमा बस्दा दिक्क लाग्ने बताउँदै भनिन्, 'छलफल पनि छैन। मैले त रेस्टमा छु भन्ने बुझेकी छु।' उनको दिनचर्या छोरासँग खेलेरै बित्छ। उनले भनिन्, 'छोरा स्याहार्दैमा दिन बितेको छ।'
'लालसलाम' फिल्मको कथा लेखेका थिए जनमुक्ति सेना डेपुटी कमान्डर तथा पूर्वमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले। शान्तिप्रक्रियामा आएपछि माओवादीले 'जनयुद्ध', 'लालसलाम' जस्ता फिल्म ठूलै लगानीमा बनायो। दाङ, प्युठान, सल्यान, अर्घाखाँचीका गाउँघरमा क्रान्तिकारी गीतमा नाच्ने प्रेमालाई एक दिन यस्तो खबर आयो, 'लालसलाम'मा हिरोइन बन्ने।
उनले फिल्ममा एउटी छापामारको भूमिका निर्वाह गरेकी छिन्। बाटो अल्मलिएको तन्नेरी छापामारलाई बाटो देखाएपछि दुईबीच माया बस्छ। त्यसपछि ऊ छापामार बन्छे। प्रेमप्रसंग चलिरहेकै बेला प्रेमी लडाइँमा मारिन्छ। 'फिल्म र हाम्रो प्रेमकथा भने फरक छ,' उनले आफ्नो प्रेमकथा फिल्मकथामा मिसाइन्, 'दिल बसेपछि छापामार बनेकी हुन्छु फिल्ममा तर म त संकटकाल लागेको बेला भागेर हिँडेकी थिएँ, जनयुद्धमा।' 
उनले यति भनेर आफ्नो प्रेमकथा र फिल्मकथालाई थाँती राखिन्। प्रेमाकी दिदी कामना पनि जनयुद्धमा लागेकी कलाकार थिइन्। दिदी जनयुद्धमा लागेकीले संकटकालमा उनलाई घरमा बस्न अप्ठ्यारो भयो। त्यहीभएर आठ कक्षा पढ्दापढ्दै उनी जनयुद्धमा लागेकी थिइन्।
जनयुद्धमा हिँडेको केही समयपछि रामपुरस्थित उनको माइती गाउँमै बसेछ, जनसेनाको डिभिजन कार्यालय। जहाँ थिए, अर्घाखाँची जलुकेका विष्णुप्रसाद गैरे 'विवेक'। सांस्कृतिक अभियानमा गएकी प्रेमालाई 'आमा बिरामी' भन्दै बोलाएर उनले प्रेम प्रस्ताव राखेका थिए।
'तेस्रोचोटिको भेटमा मात्र प्रेमप्रस्ताव स्वीकार गरेँ,' उनले भनिन्, 'फिल्म र वास्तविक जीवनको प्रेममा त फरक रहेछ।' विवेक चिठी लेखिरहन्थे तर जवाफमा उनले एउटामात्र चिठी लेखिन्। विवेक जनमुक्ति सेनाको पाँचौं डिभिजन रहेको रोल्पाको दहवनमा बटालियन कमान्डर छन्।
बिहे, पूजापाठमा नाच्ने तिर्खा मेट्दै आएकी प्रेमा जनयुद्धमा लागेपछि प्रतिरोध सांस्कृतिक परिवार हुँदै विशाल स्मृति परिवारमा सामेल भइन्। फिल्ममा एउटी छापामारको रोलमा खेलेकी प्रेमाका लागि क्यामेरासँगको भेटघाट भने त्यो पहिलो थिएन। उनले 'उत्सर्ग' सिरियलमा पनि नायिकाको भूमिका खेलेकी थिइन्, जुन बाहिर नआएरै हरायो।
उनलाई न आफूले गरेको अभिनयप्रति चित्त बुझेको छ न त फिल्मप्रति नै। उनलाई जनमुक्ति सेनाका डेपुटी कमान्डरले लेखे पनि त्यो फिल्म कथावस्तुसमेत नमिलेजस्तो लाग्यो। 'पछि फिल्म हेर्दा आनन्द आएन, कथावस्तु र मेरो अभिनय पनि अपूरो लाग्यो,' उनले भनिन्। प्रेमाकी आमाले छोरीले पाएको दुःख देखेर फिल्म हलमै रोएको बताइन्। 'छोरीले दुःख पाएको देख्दा मन खायो,' प्रेमाकी आमाले भनिन्, 'थाम्न नसकेर म त रोएछु।'
उनले खेलेको 'लालसलाम' बजारमा हिट हुन सकेन। तैपनि अफर आएमा फिल्म खेल्ने मन अझै छ उनलाई। जनताको पक्षमा, सभ्य संस्कृति निर्माणको दिशामा लाग्न प्रेरित गर्ने कुनै फिल्म बने उनी खेल्न तयार छिन्। 'अभिनय सिक्न पाए हुन्थ्यो भन्ने लाग्छ। पार्टीमा कुरा राखेको पनि हो,' उनले भनिन्, 'सिकेपछि अझ राम्रो गरिन्थ्यो होला भन्ने लाग्छ।'

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।