काठमाडौं, १० फागुन । संवैधानिक राजतन्त्र, संघीयता र धर्मनिरपेक्ष राज्य बारे जनमत संग्रह गर्नुपर्ने लगायत माग राख्दै सोमबार काठमाडौं उपत्यका बन्द गराएको राप्रपा नेपालका दुई सय कार्यकर्ता पक्राउ परेका छन् । उपत्यकाका बिभिन्न स्थानबाट प्रहरीले आफ्ना दुई सय कार्यकर्ता पक्राउ गरेको राप्रपा नेपालका प्रचार प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । बन्दको अबज्ञा गरेको भन्दै राप्रपा नेपालका कार्यकर्ताहरुले कलङ्की, चाबहील, बल्खु, गौशाला, कोटेश्वरलगायत स्थानमा केही गाडीहरुमा तोडफोड गरेका छन् । ट्राफिक प्रहरीका अनुसार आन्दोलनकारीले ललितपुरको सातदोबाटोमा पनि गाडीमा तोडफोड गरेका छन् ।
जनआन्दोलन २ मा तत्कालीन राजा ज्ञानेन्द्रका मुख्य सहयोगीको भुमिका निर्बाह गरेका कमल थापाको दल राप्रपा नेपालले संवैधानिक राजतन्त्र संघीयता र धर्मनिरपेक्ष राज्य बारे जनमत संग्रह गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गर्दै आएको छ । राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले १४ जेठमै संविधान जारी गर्न तथा महंगीविरुद्ध पनि बन्द गरिएको बताउनुभयो । बन्दका कारण काठमाडौं उपत्यका सुनसान छ । यातायातका साधन चलेका छैनन् भने मुख्य-मुख्य बजार पनि बन्द छन् । राप्रपा कार्यकर्ताहरु राजधानीका विभिन्न चोक-चोकमा बन्द सफल पार्न विहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
बन्द सफल पार्न राप्रपा नेपालले विभिन्न जिल्लाबाट कार्यकर्ता राजधानी भित्राएको छ । बन्दको पूर्वसन्ध्यामा उसले काठमाडौं उपत्यकामा आइतबार साँझ मसाल जुलुस निकालेको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।