गृहमन्त्री सहित शिर्षष्थ नेताहरुद्धारा निरिक्षण,क्षतिपुर्तिको आश्वासन
सुदिप श्रेष्ठ
इलाम ४ फागुन । गृहमन्त्री भीम रावलले इलाममा भएको आगलागीको सत्य तथ्य पत्ता लगाउन र क्षतिको यकिन विवरण उपलब्ध गराउन प्रशासनलाई निर्देशन दिनुभएको छ। गए राती भएको आगलागिको निरीक्षणका लागि आज दिउसो हेलीकोप्टरबाट शिर्षस्त नेताहरुका साथ इलाम आइपुग्नु भएका मन्त्री रावलले प्रशासनलाई छानबीनका लागि निर्देशन दिनुभएको हो।
मन्त्री रावलले प्रमुख जिल्ला अधिकारी सुदर्शन प्रसाद ढकालको अध्यक्षतामा स्थानीय विकास अधिकारी र शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख सम्मिलित छानबीन समिति गठन गर्न निर्देशन दिनुभयो। समितिले चाडै घटनाको छानबीन गरेर सरकारलाई प्रतिवेदन पेश गरेपछि सरकारले राहत वितरण गर्ने बताइएको छ।
घटनाको सत्य तथ्य बुझ्न संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग, नेपाली कांग्रेसका महामन्त्री कुलबहादुर गुरुङ्ग, नेकपा माओवादीका तर्फबाट सभाषद तथा मानव अधिकार र अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति पदमलाल विश्वकर्मा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, सभाषद् निर्मला प्रसाई आज दिउँसो २ वजे इलाम आइपुग्नु भएको थियो। आगलागिको निरीक्षण पश्चात जिविसमा भएको कार्यक्रममा गृहमन्त्री रावलले पीडितलाई सरकारले तत्काल राहत प्रदान गर्ने बताउनुभयो। सोही कार्यक्रममा सभामुख नेम्वाङ्गले आफुहरु काठमाण्डौ फर्केर प्रधानमन्त्रीसँग छलफल गरि सँाझ सम्ममा उपर्युक्त र यथोचित राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुदर्शन प्रसाद ढकालले घर भत्केर पूर्णरुपमा क्षति भएका परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ र पसल भएकालाई प्रतिपसल पाँचहजारका दरले राहत प्रदान गर्ने बताउनुभयो। जिल्ला दैवी प्रकोप उद्वार समितिको विहान बसेको बैठकले उद्वार कोषबाट राहत उपलब्ध गराउने निर्णय गरेको छ। समितिको १० करोड बराबरको क्षति भएको विवरण प्रति स्थानिय बासीहरुले असन्तुष्टि व्यक्त गर्दै कुल ५० करोड बराबरको क्षति भएको गृहमन्त्रीलाई जानकारी दिएका छन्। आगलागीबाट इलाम नगरपालिका १ का ११ वटा घर पूर्णरुपमा क्षति भएका छन् भने ५ वटा घर भत्काइएका छन्। राती साढे नौ बजे शूरु भएको आगो बिहान चार बजे मात्र स्थानियबासी, प्रहरि र सेनाको सक्रियतामा नियन्त्रणमा आएको थियो भने झापाबाट चार बजे मात्र दमकल आइ आगो निभाउने कार्यमा सहयोग गरेको थियो। त्यस्तै इलाम नगरपालिका कार्यालयले पीडितलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने बताएको छ। पीडितहरुले राज्यका जिम्मेवार व्यक्ति घटनास्थलमा आउँदा समेत आफुहरुले राज्यका तर्फबाट राहत पाउन नसकेको बताएका छन्।
आगलागिको कारण भने खुल्न नसकेपनि पीडितहरुले नगरपालिकामा रहेको वारुण यन्त्र तीन–तीन महिना सम्म विग्रिएर थन्किनुले नगरपालिकाको कमजोरी ठानेका छन्। नगरपालिकाको दमकल भए तत्काल आगो नियन्त्रणमा लिन सकिने बताएका छन्। अहिलेपनि स्थानीयबासी, रेडक्रसकर्मी, वाइसीएल, सुरक्षाकर्मीहरुले घटनास्थलमा पुरिएका सामग्रीको खोजबीन जारी राखेका छन्। आगलागी पिडितको राहतको लागि नेपालबाणी एफएम इलाम र नेपाल एसविआई बैङकले नेपाल एसविआई बैङकको खाता नं. २११२५२४०२०००२१ मा नगद संकलन गरिदिन सबैमा अनुरोध गरेकेा छ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।