निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो भूउपग्रह टेलिभिजन च्यानल नेपालका अध्यक्ष तथा स्पेसटाइम केबुल नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक जमिम शाहलाई आज अज्ञात व्यक्तिले गोली हानी हत्या गरेकामा आफू स्तब्ध भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
महासङ्घले स्वर्गीय शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । सुरक्षाको दृष्टिकोणबाट काठमाडौँको अत्यन्त महत्वपूर्ण र संवेदनशील स्थानमा दिउँसो एक प्रतिष्ठित व्यक्तिमाथि गोली प्रहार गरी हत्या गरिनुले देशको सुरक्षा व्यवस्था अत्यन्त कमजोर रहेको स्पष्ट हुन्छ भन्दै महासङ्घले घटनाको छानबिन गरी अपराधीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।
यसैगरी नेपाल केबुल टिभी एसोसिएसन र नेपाल केबुल टिभी सङ्घले शाहको हत्याप्रति भत्र्सना गरेका छन् । दुवै संस्थाले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उक्त घटनाको यथाशीघ्र छानबिन गरी अपराधीउपर कारबाहीका लागि सम्बन्धित निकायसँग माग गरिएको छ ।
मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले काठमाडौँको लाजिम्पाटमा दिउँसो २ः५५ बजे गोली प्रहार गर्दा छाती र टाउकोमा गोली लागी घाइते भएका शाहको उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।