८ चैत, काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष स्वर्गिय गिरिजाप्रसाद कोइरालाको आइतबार राति राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति स्वर्गिय कोइरालाको पार्थिव शरीरमा छोरी सुजाताले दागबत्ती दिनुभएपछि उहाँलाई राजकीय सम्मान स्वरुप नेपाली सेनाले १५ तोपको सलामीको साथै शोकधुन बजाएर राति पौने ८ बजे अन्त्येष्टि गरिएको हो ।
स्वर्गिय कोइरालाको अन्त्येष्टिमा प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अंगका प्रमुख, सुरक्षा अंगका प्रमुख, सभासद, कांग्रेसका नेता तथा कार्यकर्ता, सर्वसाधरण, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । पूर्व राष्ट्र प्रमुखको हैसियतमा स्वर्गिय कोइरालालाई राजकीय सम्मान दिइएको हो ।
दागबत्ती दिईन् छोरी सुजाताले, नेपाल किरियापुत्री
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरमा उहाँकी छोरी सुजाताले दागबत्ती दिनुभएको छ । पशुपति विकास कोषले २ सय ५० किलो रक्तचन्दन र तीन सय किलो दाउराको व्यवस्था गरी आर्यघाटको एक नम्बर चितामा राखिएको स्वर्गिय कोइरालाको पार्थिव शरीरमा सुजाताले हिन्दु परम्परा अनुसार दागबत्ती दिनुभएको हो ।
स्वर्गिय कोइरालाको पार्थिक शरीरमा छोरी सुजाताले दागवती दिनुभए पनि किरियापुत्रीको रुपमा रामशरण नेपाल बस्नु भएको छ । नेपाललाई किरियापुत्रीको रुपमा घाट व्यवस्थापन तथा सेवा समितिले चयन गरेको हो । नेपाल १३ दिनसम्म किरियामा बस्नु हुनेछ ।
शवयात्रामा जनसागर
नेपाली काङ्ग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाको शवयात्रा आइतबार अपरान्ह तीनबजे दशरथ रंगशालाबाट सुरु भएको थियो । नेपाली सेनाले राष्ट्रिय धुन सहित राष्ट्रिय सम्मान गरेपछि स्वर्गिय कोइरालाको शव यात्रा दशरथ रंगशालाबाट सुरु भएको थियो । शवयात्राका क्रममा पनि पार्थिव शरीरको अघिपछि सेनको एक गुल्मले शोकधुन बजाउँदै स्कट गरेका थिए । दशरथ रंगशालाबाट सुरु भएको शव यात्रामा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा कार्यकर्ता, शुभचिन्तक लगायत हजारौंको संख्यामा सर्वधारणहरुको सहभागिता रहेको थियो । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल, छोरी तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइराला शव राखिएको वाहानमा चढ्नु भएको थियो । अन्तिम श्रद्धान्जलिका लागि दशरथ रंगशाला पस्न नपाएका र नपुगेकाहरुले सडक पेटीको दायाँ-बायाँ, घरको कौशी, छत तथा सडकमा बनाइएका आकाशे पुलमा बसेर फुलका माला र गुच्छ्छाले श्रद्धान्जलि दिएका थिए ।
शवयात्रा नागस्थान, न्युरोड गेट, रत्नपार्क, रणोद्धिप, बागबजार, पुतलिसडक, डिल्लीबजार, मैतिदेबी चोक, पुरानो बानेश्वर, बत्तिसपुतली, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको थियो । श्रद्धान्जलिका लागि उपस्थित भिडले सडकनै भरिएपछि बत्तिसपुतली क्षेत्रमा केही समय शवयात्रामा अवरोध सिर्जना भएको थियो ।
स्वर्गिय कोइरालाको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलिका लागि दशरथ रंगशाला लैजानु अघि सुजाता कोइराला निबास मण्डिखाटारबाट धुम्बाराही, नारायणगोपाल चोक, टिचिङ्ग, पानीपोखरी, लाजिम्पाट, लैनचौर, केशरमहल, दरबारमार्ग, त्रिचन्द्र कलेज, पुरानो बसपार्क, भद्रकाली, नागस्थान, त्रिपुरेश्वर, टेकु, कालीमाटी र बल्खु हुँदै नेपाली काङ्ग्रेसको सानेपास्थित पार्टी कार्यालय पुर्याइएको थियो । त्यहाँ काङ्ग्रेसका नेता र कार्यकर्ताहरुले सामूहिक रुपमा फूलमाला र अविर अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । केन्द्रीय कार्यालयमा करिब १५ मिनेट राखेपछि पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंस्थित दशरथ रङ्गशालामा ल्याइएको हो ।
श्रद्धाञ्जलीका लागि रङ्गशालामा मानवसागर
नेपाली राजनीतिका शीखर पुरुष एवम् काङ्ग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति अन्तिम श्रद्धान्जली अर्पण गर्न हजारौं सर्बसाधारण काठमाडौंस्थित दशरथ रंगशालामा भेला भएका थिए । उनीहरुले ‘गिरिजाबाबु अमर रहुन्’, ‘गिरिजाप्रसाद कोइराला जिन्दाबाद’ जस्ता नारा लगाएका थिए । नेपाली सेनाको एक टुकडीले राष्ट्रियगानसहित श्रद्धासुमन अर्पण गरेको थियो ।
प्रधानमन्त्री माधबकुमार नेपालले स्वर्गिय कोइरालाप्रति राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान सहित अन्तिम श्रद्धान्जलि अर्पण गर्नुभएको थियो । प्रधानमन्त्री नेपालले श्रद्धान्जलि दिएपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, सभामुख सुवास नेम्वाङ, संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि रोबर्ट पाइपर, प्रधानसेनापति छत्रमानसिंह गुरुङ्ग, काङ्ग्रेसका नेताहरुलगायतले फूलमाला अर्पण गरी अन्तिम श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
उहाँप्रति श्रद्धान्जली दिन नेपाली काङ्ग्रेससहित अन्य दलका नेता-कार्यकर्ता, मन्त्रिपरिषदका सदस्य, कुटनीतिक नियोगका प्रतिनिधि, कर्मचारी, पत्रकार, सर्बसाधारण र शुभेच्छुकहरु हात हातमा फूलमाला र अबिर लिएर रङ्गशालामा पुगेका थिए । कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौं सर्बसाधारण चर्को घामलाई विर्सेर हातमा फूलमाला र अबिर लिएर लामबद्ध भएका थिए । रंगशालादेखि थापाथली र टेकुसम्म सर्बसाधारण गर्मीको प्रवाह नगरी धैर्यपूर्वक लाइनमा बसेका देखिन्थे । स्वर्गिय कोइरालालाई अन्तिम श्रद्धान्जलि दिनका लागि दिउँसो २ बजे सम्मको समय तय गरिएको भएपनि सर्वसाधरणको भिड नघटेपछि १ घण्टा थप गरि अपरान्ह ३ बजे सम्म लम्बाइएको थियो । अपरान्ह ३ बजे सम्ममा पनि सर्वसाधरणको भिड कायम रहेपछि काठमाण्डौका प्रहरी प्रमुख गणेश केसीले सडककै पेटीमा बसेर श्रद्धासुमन प्रकट गर्न आग्रह गर्नुभएको थियो ।
दिए भारतीय नेताहरूले पनि श्रद्धाञ्जलि
नेपाली काङ्ग्रेसका स्वर्गीय सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आइतबार भारतीय नेताहरु अन्तीम श्रद्धाञ्जली दिएका छन् । कोईरालालाई अन्तिम श्रद्धाञ्जली दिन भारत लोकसभा सभामुख मिरा कुमार, अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा लगायत अन्य भारतीय नेता आइतबार मध्यान्ह नेपाल आइपुग्नु भएको हो ।
भारतीय नेताहरुको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै सुताजा निवास मण्डिखाटार पुगि शोक पुस्तिकामा हस्ताक्षर गरि दशरथ रंगशाला आइपुगेका थिए । दशरथ रंगशालामा स्वर्गिय कोईरालाको पार्थिव शरीरमा आन्तिम श्रद्धाञ्जली दिई पशुपति आर्यघाटस्थित अन्त्येष्टिमा सहभागी हुनु भएको थियो । भारतीय राष्ट्रपति प्रतिभादेवी पाटिल तथा प्रधानमन्त्री डा. मनमोहन सिंहले शनिबारै कोईराला पुत्री सुजाता कोईरालालाई शोक सन्देश पठाई दुःख ब्यक्त गरिसकेका छन् ।
श्रद्धान्जलिमा के भने नेताहरुले ?
राजनीतिक दलका नेताहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाको अन्तिम इच्छाअनुसार सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन काठमाडौंको दशरथ रंगशालामा पुगेका नेताहरुले सन्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सहमति र सहकार्यका साथ नेपालको शान्तिप्रक्रियालाई पूर्णता दिएमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखेका छन् ।
प्रधानमन्त्री माधबकुमार नेपालले सहमति र सहकार्यका साथ अघि बढेर शान्ति प्रक्रियालाई पूर्णता दिने बताउनुभयो । उहाँले यसका लागि आफू लचकताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आ-आफ्ना अडान छाडेर सहमतिमा आउन सबै दलहरुलाई आह्वान गर्नुभयो । यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाको पूर्णताको लागि दलहरुलाई सहमतिमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
नेपाली काङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले कोइरालाको निधनले सिङ्गो देशले अभिभावक गुमाएको भन्दै उहाँको अधुरो इच्छा पूरा गर्ने जिम्मेवारीबोधका साथ सबै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छादार, राप्रपा नेपालका अध्यक्ष पशुपति शमसेर जबरालगायतले पनि शान्ति र संविधानको पूर्णताका लागि गम्भीर भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
भारतीय नेताहरु के भन्छन् निधनप्रति ?
भारतीय नेताहरुले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गिय गिरिजाप्रसाद कोइराला नेपाल र भारतका मात्रै नभएर दक्षिण एसीयाकै मार्गदर्शक भएको बताएका छन् । उहाँको निधनले नेपाललाई मात्रै नभए दक्षिण एसियालाई नै ठूलो क्षति पुगेको उनीहरुले बताएका छन् ।
स्वर्गिय कोइरालाको पार्थिव शरिरमा आइतबार दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जली दिंदै उनीहरुले दश वर्षे जनयुद्धमा रहेका तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रिया मार्फत राजनीतिक मुलधारमा ल्याउन सफल भएको स्मरण गर्दै उनीहरुले उहाँको निधनले भारत समेत शोकाकुल रहेको बताएका छन् ।
दशरथ रंगशालामा सञ्चारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै भारतीय राष्ट्रवादी कांग्रेसका महामन्त्री डीवी त्रिपाठी, भारतीय सोसलिष्ट फन्टका संयोजक लगायतका नेताहरुले स्वर्गिय कोइरालाले शान्ति र संविधानका लागि पुर्याएको योगदानका कदर गर्दै उहाँको अधुरो सपना पूरा गर्न नेपालका राजनीतिक दलहरु सहमति, सहकार्य र एकताका साथ अघि बढ्न आग्रह गरेका छन् ।
स्वर्गिय कोइरालाको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलि दिनका लागि भारत लोकसभाका सभामुख मिरा कुमार, अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा लगायत अन्य भारतीय नेताहरु अपरान्ह साढे १२ बजे काठमाण्डौ आईपुग्नु भएको हो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।