काठमाडौं, चैत १८ । ‘पल्पसा क्याफे'बाट उपन्यास यात्रामा प्रवेश गरेका पत्रकार नारायण वाग्ले दोस्रो उपन्यास ‘मयूर टाइम्स' लिएर प्रस्तुत हुँदै छन्। उनको पहिलो उपन्यास ‘पल्पसा क्याफे' पाँच वर्षदेखि लगातार सर्वाधिक बिक्री भइरहेको छ। यही महिना बजारमा आउने वाग्लेको दोस्रो उपन्यास पनि समकालीन द्वन्द्वको परिवेशमा केन्द्रित छ।
सन् २००८ मा अंग्रेजीमा अनुदित भई प्रकाशित ‘पल्पसा क्याफे' लाई नेपालबाहिर दक्षिण एसियाली बजारका लागि दिल्लीस्थित र्यान्डम हाउस र कोरियाली भाषामा दक्षिण कोरियाको ‘दि फरेष्ट अफ लिटरेचर'ले पूर्वोत्तर एसियाली बजारका लागि सन् २०१० भित्र प्रकाशित गर्ने अनुमति लिइसकेका छन्। शीर्षकले संकेत गरेजस्तै उनको दोस्रो उपन्यासले ‘मयूर टाइम्स' दैनिकलाई नेपालको संक्रमणकालीन समस्या केलाउने केन्द्रमा राखेको छ।
उपन्यासका दुईजना मुख्य पत्रकार पात्र छन्, पराग र लिसरा। ‘पक्कै पनि पाँच वर्ष लामो अन्तराल भएको छ, तर म दोश्रो कृतिमा पनि स्वयं सन्तुष्ट हुन चाहन्थे,' लेखक वाग्लेले भने,' ‘र, देशको वेचैनीपूर्ण अवस्थाले मेरो दोस्रो कथालाई पनि चञ्चल बनाएको छ।‘
नेपालयले आफ्नो वार्षिक तालिकामा उल्लेख गरेझैं समयमै यसलाई ल्याउन प्रकाशक र लेखक समर्थ भएका छन्। ‘यो वर्षको अन्त्य हुनु अगावै पुस्तक बजारमा ल्याउने बाचा अनुसार,' पाठकहरुको जिज्ञासा शान्त पार्दै पब्लिकेशन नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘चैत २८ गते प्रतिक्षाको घडी समाप्त हुँदैछ।'
‘मयुर टाइम्स'ले नेपाली साहित्यिक प्रकाशनको इतिहासमा आफूलाई अर्को कोसेढुङ्गा सावित गर्ने विश्वास नेपालयको छ। उपन्यासको बिक्री वितरण ‘एजुकेसनल बुक हाउस'ले सम्हाल्दैछ। त्यसका सञ्चालक अन्जन श्रेष्ठ यसैका निम्ति अमेरिकाबाट नेपाल आइपुगेका छन्। ‘प्रायः वार्षिक पुस्तक मेलामा सहभागी हुन मात्र म नेपाल आउने गरेको थिए,' उनले भने, ‘त्यसमा पनि यसपटक नारायण वाग्लेको पुस्तक नभइदिएको भए शायद आउदिन थिएँ होला।' पब्लिकेशन नेपालय र वितरक एजुकेशन बुक हाउसले काठमाडौंमा सार्वजनिक भएकै दिन मुलुकभर उपन्यास उपलब्ध गराउन बन्दोबस्त मिलाएको नेपालयले जनाएको छ।
‘यो पुस्तकको माग सुरुमै अत्यन्त बढी भइरहेको र अग्रिम बुकिङसमेत खुला भइसकेको अवस्थामा हामीले पहिलो संस्करणमै १० हजार प्रति छापेका छौं,' नेपालयका किरणले भने, ‘बजारको मागले हामीलाई पहिलो पटक एक किसिमको उत्साहजनक दबाब महशुस गराएको छ।' चैत २८ गते मुलुकभर उपलब्ध हुने उपन्यास ‘मयूर टाइम्स'को पातलो गाता र बाक्लो गाताका संस्करणलाई क्रमशः ३ सय र ५ सय रूपैया मूल्य राखिएको छ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।