Monday, May 24, 2010

मलेसियामा नेपाली धमाधम अपहरणमा पर्दै

रुसाहाङ चेम्जोङ
क्वालालम्पुर । मलेसियामा श्रम गरिरहेका नेपाली कामदार पछिल्ला दिनमा धमाधम अपहरणमा पर्न थालेका छन् । अपहरण र लुटपाटका घटना भइरहने मलेसियामा पछिल्लो दिनमा नेपाली कामदार अपहरणकारीको निशाना बन्न थालेका छन् । गत एक महिनामा मात्र तीन जना नेपाली कामदार अपहरणमा परेका छन् । गत मे १ तारिख साँझ जोहोरबारुबाट क्वालालम्पुर आउने क्रममा बुकितजालीलस्थित बस स्टेसनबाट राजेन्द्र आलेमगर अपहरणमा परेका थिए । दुई हजार ९ सय रिंगेट अर्थात करिव ६४ हजार रुपैयाँ फिरौती बुझाएर आलेममगर ६ दिनपछि अपहरणमुक्त भए ।
अपहरणमुक्त भएपछि त्यसबारे जानकारी दिंदै मदनकुमार नेम्वाङ
त्यसको भोलीपल्टै मलेसियाकै मेरुस्थित एक कम्पनीमा कार्यरत अजयबहादुर ठडाराई ड्युटी सकेर होस्टल फर्किदैगर्दा बाटाबाटै अपहरणमा परे । उनको अबस्था अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन् । स्थानीय प्रहरी स्टेशनलाई अपहरणबारे जानकारी गराएपछि बिभिन्न स्थानमा छापा मारिएपनि अपहरित राई र अपहरणकारीको टुंगो लाग्न सकेको छैन् । अपहरणकारीले ३ हजार रिंगेट फिरौती मागेकोमा २ हजार दुई सय रिंगेट बुझाएपनि बाँकी रकम बुझाउन नसक्दा उनी अझै अज्ञात छन् ।
त्यस्तै जोहोरबारु राज्यको गेलाङपातास्थित एक कम्पनीमा कार्यरत मदनकुमार लिम्बूलाई यही मे १४ का दिन अपहरण गरिएको छ । काम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिले फोन गरी नजिकैको रेष्टुरामा भेट्न बोलाएपछि उनी आफ्नो मोटरसाइकलमा त्यहाँ पुगेका थिए । अपहरणकारीले रेष्टुरेष्टबाट उनलाई आफ्नो कोठासम्म पुर्‍याउन अनुरोध गरेपछि आफ्नो मोटरसाइकलसँगै उनी अपहरणमा परेका हुन । अपहरण गरेको दुईदिन पछि अपहरणकारीहरुले मागेको १० हजार रिंगेट फिरौती बुझाई मुक्त भएका छन् ।
मदनको अपहरणमा संलग्न रहेको आशंकामा गत शनिबार कोतारायास्थित स्थानीय चाईनिज रेष्टुरेण्टमा काम गरीरहेको अवस्थामा तोकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । निज तामाङ धादिङ निवासी हुन ।
नेपालीकै प्रत्यक्ष अप्रत्यक्ष संलग्नतामा नेपाली श्रमिकहरुको अपहरण भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सामान्य कमाई भएका नेपाली श्रमिकको अपहरण गरि हजारौं रिंगेट फिरौती माग्न थालिएपछि मलेसियामा रहेका नेपाली श्रमिक र ब्यबसायीहरु आतंकित हुन थालेका छन् ।
दुई बर्षअघि पनि मलेसियामा ब्यबसाय गरिरहेका नेपाली ब्यबसायीको अपहरण तिब्र भएको थियो । नेपाली दूतावास र ब्यबसायीको पहलमा केही ब्यक्तिलाई प्रहरी जिम्मा लगाएपछि शान्त बनेको मलेसिया पुनः आतंकित बन्न थालेको छ ।
मलेसियामा करिव पांच लाख नेपाली कामदार कार्यरत रहेको अनुमान गरिन्छ । क्वालालम्पुरको कोतारायसहित मुख्य शहरहरुमा नेपाली ब्यबसायीहरुले रेमिट्यान्स, रेष्टुँरा तथा पसल सञ्चालन गर्दै आएका छन् ।

अपहरणमा संलग्न रहेको आशंकामा धादिङ घर भएका तोकबहादुर तामाङलाइ पक्राउ गर्दै मलेसियन प्रहरी .

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेलले बाहिर हिड्दा सजकता अपनाउन श्रमिकहरुलाई सुझाव दिनुभएको छ । अपरिचित मानिसले बोलाएका स्थानमा नजान, एक्लै नहिड्न तथा आफुले प्रयोग गरेको ट्याक्सी नम्बरको जानकारी लिएर आफ्ना साथीहरुलाई एसएमएसमार्फत जानकारी गराउन पौडेलले आग्रह गर्नुभयो । ‘यसो भयो भने अपहरणमा परिहाले पनि अपराधीलाई पत्ता लगाउन र पक्राउ गर्न सजिलो हुन्छ’- पौडेलले भन्नुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।