Wednesday, June 9, 2010

पाएनन् राहत आगलागी पीडितले

इलाम २६ जेठ । करोडौं रुपैयाँको क्षति हुनेगरी गत फागुन ३ गते राति इलाम सदरमुकाममा भएको आगलागीमा परी पीडित भएकाहरुले अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरेका छन् । आगलागी भएकै भोलिपल्ट गृहमन्त्रीसहित मुलुकका विभिन्न दलका उच्चस्तरका नेताहरु आगलागी भएको स्थलमै आएर राहत दिने आश्वाशन दिए पनि उनीहरुको आश्वाशन आश्वसनमै सीमित भएको पीडितहरुको दुखेसो छ । आगलागीमा सदरमुकामको निकुाजपथका १८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने दर्जन बढी घरहरुमा क्षति पुगेको थियो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा अहिलेसम्म ४० लाख रुपैयाँको हाराहारीमा राहत संकलन भएको भए पनि सरकारले भने कुनै राहत उपलब्ध नगराएको पीडितहरुले बताएका छन् ।
राहत संकलनका लागि स्थानीय नेपालबाणी एफएम र इलाम एफएमलगायतले नेपाल एसबीआई बैंक तथा एक्सेल डेभलपमेन्ट बैंकसंँग सहकार्य गरी खोलेको खातामा नेपालका र विदेशमा बस्ने नेपालीहरुले समेत सहयोग गरेका थिए । सरकारले राहत दिने आशा रहेको भएपनि हालसम्म कुनै चासो नदिएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् ।
आगालागीबाट विस्थापित बनेका २५ परिवार अहिले पनि स्थानीय सरकारी भवनमा शरण लिएर बसिरहेका छन् । आगलागीमा प्रतिव्यक्ति ५ हजार रुपैयाँदेखि लिएर ३ करोड रुपैयाँसम्मको क्षति भएको थियो । अहिले सरकारी राहतको प्रतिक्षामा बसिरहेका पीडितहरुले बढीमा ३ लाख रुपैयाँसम्मको राहत भने पाएका छन् ।
कतिपय पीडितहरु भने सरकारी राहतकै प्रतिक्षामा दिन विताइरहेका छन् । इलामका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भने पर्याप्त नभएपनि सरकारले आगलागी पीडितहरुका लागि धेरै सहयोग गरेको दावी गर्नुभयो । राजनीतिक परिस्थिति जटिल बनेका कारण भनेको बेला र खोजे जति राहत भने सरकारले दिन नसकेको भन्दै प्रजिअ निरौलाले पीडितलाई राहत उपलब्ध गराउन आपुू प्रयत्नशिल रहेको जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।