Monday, June 7, 2010

रोकिएन भारतीय रुपैयाँको कालोबजारी

विराटनगर २४ जेठ  । राष्ट्र बैंकले भारतीय रुपैंयाको कालोबजारी रोक्न कडाई गरे पनि विराटनगर तथा आसपासका क्षेत्रमा भने कालोबजारी नियन्त्रण हुन सकेको छैन । भारतीय रुपैंयाँको अभाब भएपछि राष्ट्र बैंकले सिमित मनीचेाजर र व्यक्तिलाई मात्र भारतीय रुपैंयाँ दिने गरेको छ । पुर्वको प्रमुख शहर विराटनगरमा मात्र नभएर आसपासका सिमावर्ती बजारहरुमा समेत भारुको अबैध रुपमा संकलन गरी कालोबजारी भइरहेको छ । स्थानीय व्यापारी तथा राष्ट्र बैंकको स्वीकृति लिएर मुद्राको कारोबार गर्दै आएका मनीचेाजरहरुले समेत तोकिएको दररेटभन्दा बढी लिएर भारतीय रुपैंयाँ सटही गरिरहेका छन् ।
व्यापारी तथा मनीचेाजरहरुले एक हजार रुपैयाँ भारु सटही गर्दा थप ७५ रुपैयाँ नेपाली रुपैंयाँ कमिसन दिनुपर्ने पीडित नारायण निरौलाले वताउनु भयो । नेपाल राष्ट्र बैंकले भारतीय रुपयाँ १ सय लिन नेपाली १ सय ६० रुपैंयाँ तिर्नुपर्ने विनिमय दर तोकेको छ । तर त्योभन्दा महंगो मूल्य भारु लिनको लागि तिर्नुपरिहरेको छ ।
राष्ट्र बैंक शाखा कार्यालय विराटनगरका निमित्त व्यावस्थापक कुमार पोख्रेलले कालोबजारी रोक्न बैंकवाट २ हजारभन्दा बढि भारु दिन कडाई गरिएको जानकारी दिनुभयो । २ हजार रुपैयाँभन्दा बढि भारु लिनुपरेमा बैंकमा निवेदन दिनुपर्ने र त्यसलाई विश्लेषण गरेर तोक लगाएपछि मात्रै पाईने व्यवस्था रहेको छ ।
पोखरेलले दैनिक बैंकमा आएर लाईन लागेर भारु सटही गर्नेहरुले समेत कालोबजारी गर्ने गरेको सूचना पाएपछि गत ५ महिनादेखि २ हजार रुपैयाँभन्दा बढि भारु लिनेलाई कडाई गर्न तोक लगाउने ब्यवास्था गरेको वताउनु भयो । बैंकले सटहीको अनुमति पाएका र बाणिज्य बैंकहरुलाई भने निश्चित रकम दिने गरेको छ ।
राष्ट्र बैंक विराटनगर शाखावाट दैनिक १० लाख भारु सटही हुने गरेको छ । उक्त रुपैंयाँ विराटनगरका वाणिज्य बैंक र १७ वटा मनिचेाजरहरुले ४० हजार रुपैयाँका दरले लाने गरेको जनाइएको छ । अभाब हुन नदिन र कालोबजारी नियन्त्रण गर्न कोशिस भइरहे पनि मनीचेाजरहरुले पनि व्यक्तिगत रुपमा कालोबजारी गरिहेको सूचना बैंकमा आएको बैंकले जनाएको छ ।
राष्ट्र बैंक शाखाका व्यवस्थापक पोखरेलले कालोबजारीको सूचना आइरहेकोले मनीचेाजरलाई समेत रकम घटाएर दिने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार भारुको अबैध कारोवार गरेको प्रमाण पाइएमा मनीचेाजरको ईजाजत रद्द गर्नेसम्मको कार्वाही राष्ट्र बैंकले गर्नसक्ने कानुनी प्रावधान रहेको छ ।
तरलताले गर्दा राष्ट्र बैंकले डलरमा किनेर ल्याएको भारु मुद्रा खटाएर बेचे पनि भारतसँग भारतीय बजारमा अबैध रुपमा भैरहेको व्यापारिक कारोवारले गर्दा भारतीय मुद्राको अभाब भएको हो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।